वडा नं. ९ र १३ फाइनलमा प्रवेश, उपाधिका लागि भिड्ने
कार्तिक १९ । सुनवल नगरस्तरीय वडा कप क्रिकेट प्रतियोगिता–२०८३ को फाइनलमा वडा नं. ९ र वडा नं. १३ प्रवेश गरेका छन्। बुधबार सम्पन्न सेमिफाइनल खेलमा वडा नं. ९ ले वडा नं. १२ लाई ७ विकेटले तथा वडा नं. १३ ले वडा नं. १ लाई ५९ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
पहिलो सेमिफाइनलमा टस जितेर फिल्डिङ रोजेको वडा नं. ९ ले वडा नं. १२ लाई १९ ओभरमा ९१ रनमा समेटेको थियो। वडा नं. १२ का विकास न्यौपानेले सर्वाधिक ४३ र सन्दीप केसीले १४ रन बनाए। बलिङतर्फ वडा नं. ९ का राजेश शाहीले ३ तथा दीपचन्द्र राजभर र साहिम अलीले समान २ विकेट लिए।
९२ रनको लक्ष्य पछ्याएको वडा नं. ९ ले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएर जित हासिल गर्यो। उसका लागि दीपचन्द्र राजभरले अविजित २९, रियाजुद्दिन अलीले २४ र इरफान अलीले २२ रन बनाए। २ विकेट लिनुका साथै अविजित २९ रन बनाएका राजभर खेलको म्यान अफ द म्याच घोषित भए।
त्यस्तै, अर्को सेमिफाइनलमा वडा नं. १३ ले वडा नं. १ लाई ५९ रनले पराजित गर्यो। टस जितेर पहिले बलिङ रोजेको वडा नं. १ विरुद्ध ब्याटिङ गरेको वडा नं. १३ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। उसका लागि रुपकान्त चालिसेले सर्वाधिक ७०, सागर चापागाईंले २२ र वेदनाथ भट्टराईले २१ रनको योगदान दिए।
१६२ रनको लक्ष्य पछ्याएको वडा नं. १ ले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो। उसका लागि ओम कार्की श्रेष्ठले २१, विशाल क्षेत्रीले १५ र सन्तोष चापागाईंले १४ रन बनाए। बलिङतर्फ वडा नं. १३ का यमन भण्डारीले ३ तथा अब्दुल करिम र रुपकान्त चालिसेले समान २ विकेट लिए। ब्याटिङमा ७० रन र बलिङमा २ विकेट लिएका चालिसे खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि वडा नं. १ र वडा नं. १२ बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहान ९ बजे सुरु हुनेछ भने उपाधिका लागि वडा नं. ९ र वडा नं. १३ बीचको फाइनल खेल दिउँसो १ बजे सञ्चालन हुने आयोजकले जनाएको छ।






प्रतिकृया दिनुहोस