आज समुदघाटन हुने छैठौँ सुनवल महोत्सवको तयारी पूरा, उद्घाटन पूर्व हुने प्रभातफेरीमा उपस्थितिका लागि आग्रह
सुनवल । छैठौँ सुनवल महोत्सव–२०८३ को आज उद्घाटन हुँदैछ । सुनवल नगरपालिका–१ स्थित सोमनाथ मेला परिसर यतिबेला झकिझकाउ पारिएको छ । आज हुने महोत्सवको समुद्घाटनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।
सङ्घका अध्यक्ष रमेश कर्मचार्यका अनुसार महोत्सव स्थलमा स्वागतद्वार, व्यवस्थित प्रदर्शनी कक्ष, मेला सचिवालय, सेल्फी जोन, मुख्य मञ्च, बाल उद्यान, विद्युतीय खेल सामग्री तथा प्राथमिक उपचार केन्द्रलगायतका संरचना तयार पारिएका छन् ।
झन्डै २०० वटा व्यावसायिक स्टल रहने महोत्सवको उद्घाटन समारोहलाई विशेष बनाउन नगरभित्रका विभिन्न जातजाति, भाषा र संस्कृतिको पहिचान झल्किने भेषभूषा तथा मौलिक बाजागाजासहितको प्रभातफेरी कार्यक्रमको समेत तयारी गरिएको छ । सङ्घका महासचिव तेजप्रसाद भण्डारीले प्रभातफेरीमा विभिन्न समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गरिने जानकारी दिनुभयो ।
महोत्सवलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन र स्थानीय प्रतिभा प्रदर्शनको अवसरका रूपमा समेत विकास गर्ने आयोजक संघले जनाएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारका विविध सांगीतिक र सांस्कृतिक प्रस्तुति पनि हुनेछन् ।
‘कृषि, उद्योग, व्यापार, कला र संस्कृति, समग्र सुनवलको उन्नति’ भन्ने मूल नाराका साथ सञ्चालन हुने छैटौँ सुनवल महोत्सवको आज बिहान ११ बजे भव्य समारोहकाबीच समुद्घाटन गरिने संघका अध्यक्ष कर्मचार्यले बताउनु भयो । उहाँले आज उद्घाटन पूर्व हुने प्रभातफेरीमा सुनवलका विभिन्न जात जाति भाषा र संस्कृति तथा विभिन्न क्षेत्र विशेषलाई उपस्थितिका लागि आग्रह गर्नु भयो ।






प्रतिकृया दिनुहोस