भोटेकोशी बाढीका बेपत्ता दुई परिवारलाई ५४ हजार रुपैयाँका दरले राहत
भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता सुनवल नगरपालिका–७ का दुई परिवारलाई प्रतिपरिवार ५४ हजार ६० रुपैयाँ राहत प्रदान गरिएको छ।
लुम्बिनी चिनी उद्योग प्रालिका कर्मचारी र खांडदेवी आमा समूह सुनवल ४ तुरिया घोलाको संयुक्त पहलमा बेपत्ता सुजन श्रेष्ठकी श्रीमती सुष्मा श्रेष्ठ र देवबहादुर खत्रीका बुबा खिलबहादुर खत्रीलाई उक्त राहत रकम प्रदान गरिएको हो।
लुम्बिनी चिनी उद्योगका प्रबन्धक टेकबहादुर पुन, युनियन अध्यक्ष राजेन्द्र यादव, खांडदेवी आमा समूहकी अध्यक्ष तीतलीदेवी पुन र वडा नम्बर ७ का अध्यक्ष नारायणप्रसाद आचार्यले बेपत्ता परिवारको घरमै पुगेर राहत हस्तान्तरण गरेका थिए।
बेपत्ता दुवैजना ट्रक चालक र सहचालक रहेको जनाइएको छ। उनीहरूको कुशको शव बनाई अन्त्येष्टिपछि परिवारजन काजक्रियामा बसेका छन्।
सुनवल नगरपालिकाबाट अन्य व्यक्ति पनि बेपत्ता भए पनि अति विपन्न परिवारलाई राहत दिने निर्णयअनुसार दुई परिवारलाई राहत प्रदान गरिएको लुम्बिनी चिनी उद्योगका प्रबन्धक टेक बहादुर पुनले जानकारी दिनुभयो।







प्रतिकृया दिनुहोस