सुनवलको बजार चलायमान बनाउन उद्योग वाणिज्य सङ्घ सुनवलको पहल
असोज २२। उद्योग वाणिज्य सङ्घ सुनवलले सुनवल क्षेत्रका वस्तुगत व्यवसायीहरूसँग व्यवसायलाई चलायमान बनाउने तथा चाडपर्वका समयमा बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने विषयमा छलफल गरेको छ।
चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्ने भएकाले व्यवसायी र उपभोक्ता दुवैलाई सहज हुने गरी बजार व्यवस्थापन गर्नुपर्ने विषयमा छलफल गरिएको उद्योग वाणिज्य सङ्घ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो।
छलफलमा चाडपर्वका समयमा साँझको बजारलाई थप व्यवस्थित बनाउने, उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै साँझ ९ बजेसम्म व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने तथा बजारलाई थप व्यवस्थित र उपभोक्तामैत्री बनाउने विषयमा छलफल भएको अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो।
उहाँका अनुसार पछिल्लो समय व्यवसाय सञ्चालनमा देखिएका चुनौती, बजारलाई थप चलायमान बनाउने उपाय तथा चाडपर्वमा उपभोक्तालाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा व्यवसायीहरूसँग सुझाव तथा धारणा आदानप्रदान गरिएको थियो।
छलफलमा सुनवल क्षेत्रका विभिन्न वस्तुगत व्यवसायीहरूको उपस्थिति रहेको उद्योग वाणिज्य सङ्घ सुनवलका महासचिव तेजप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार व्यवसायीहरूले बजार व्यवस्थापन, व्यवसाय सञ्चालन तथा उपभोक्तामैत्री सेवा प्रवाहका विषयमा आफ्ना धारणा राखेका थिए।
सुनवल क्षेत्रको व्यापार व्यवसायलाई थप व्यवस्थित, चलायमान र दिगो बनाउँदै लैजान सबै वस्तुगत व्यवसायीहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको समेत छलफलमा जोड दिइएको थियो। एक व्यवसाय अर्को व्यवसायको परिपूरक बन्ने गरी आपसी सहकार्यका माध्यमबाट सुनवलको समग्र व्यापारिक वातावरणलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने निष्कर्षसहित छलफल सम्पन्न भएको हो।






प्रतिकृया दिनुहोस