स्थानीय उत्पादनको बजारीकरण र हाटबजार व्यवस्थापन गर्न सुनवल उद्योग वाणिज्य संघको आग्रह
सुनवल नगरपालिकाभित्र सञ्चालन हुँदै आएका हाटबजार तथा फुटपाथमा हुने व्यापारिक गतिविधिलाई व्यवस्थित गर्न उद्योग वाणिज्य संघ सुनवलले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
उद्योग वाणिज्य संघ सुनवलले नगरपालिकालाई पत्र हस्तान्तरण गर्दै हाटबजार, स्थानीय उत्पादनको बजारीकरण तथा फुटपाथ व्यापारलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न आग्रह गरेको हो ।
स्थानीय उत्पादनको बजारीकरणका लागि निश्चित दिन र स्थानको व्यवस्था गर्न पनि संघले सुझाव दिएको छ ।
महलपोखरी लगायत सुनवल नगरपालिकाका विभिन्न स्थानमा उत्पादित अर्गानिक कृषि तथा स्थानीय उत्पादनलाई बजार सँग जोड्न हप्ताको एक दिन बिहानीको समयमा परासी रोडमा निश्चित स्थान र निश्चित समयमा बिक्री–वितरण तथा गुणस्तर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यसले स्थानीय उत्पादनको बजारीकरण, उत्पादकको आयआर्जन तथा उपभोक्तालाई स्थानीय वस्तु सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने संघको भनाइ छ ।
त्यस्तै, हप्ताको दुई दिन सञ्चालन हुँदै आएको हाटबजारलाई व्यवस्थित गर्न निश्चित स्थानमा व्यवसायीहरूलाई निश्चित स्टलको व्यवस्था गर्न सुझाव दिइएको छ । हाटबजार क्षेत्रमा सुरक्षा, सीसीटीभी निगरानी, विद्युत तथा पर्याप्त प्रकाश, सरसफाइ र आवश्यक अन्य पूर्वाधारको व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ । साथै, स्थानीय रूपमा दैनिक तथा नियमित व्यवसाय गर्दै आएका व्यवसायीलाई प्राथमिकता दिँदै उनीहरूको व्यावसायिक हित संरक्षण गर्ने व्यवस्था गर्नुपर्ने संघको माग छ ।
संघले सडक तथा फुटपाथमा हुने व्यापारलाई प्रभावकारी रूपमा नियमन गर्न पनि आग्रह गरेको छ । नगर क्षेत्रमा विभिन्न स्थानबाट आएर फुटपाथ तथा सडक क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायीलाई स्थानीय रूपमा व्यवसाय दर्ता गरी नियमित कर तथा अन्य शुल्क तिर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । साथै, सार्वजनिक सडक तथा फुटपाथमा हुने व्यापारलाई व्यवस्थित गर्दै व्यवसायीको अधिकार र हितमा समेत असर नपर्ने गरी व्यवस्थापन गर्न संघले आग्रह गरेको छ ।
त्यसैगरी, बजार क्षेत्रको निरन्तर अनुगमन गर्न पनि संघले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । बजार क्षेत्रमा व्यवसायीको स्थान व्यवस्थापन, सरसफाइ, बजार सञ्चालन तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा नियमित अनुगमन गरी देखिएका समस्या समाधान गर्नुपर्ने संघको सुझाव छ ।
संघले बजार व्यवस्थापन, अनुगमन तथा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि नगरपालिका, उद्योग वाणिज्य संघ र व्यवसायीबीच आवश्यक समन्वय गरी प्रभावकारी व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ ।






प्रतिकृया दिनुहोस